Wednesday, August 10, 2005

 

विशेष अदालतमा गगन थापासँग…UWB

म बस्ने थुनुवा कोठामा नक्कली मुद्राको कारोबारमा पक्राउ भएका दुई नाइजेरियाली कैदी छन, धरौंटि बुझाउन नसकेर उनीहरु थुनामा बसेको भन्दै रुन्छन । आज आउने बेलामा मसँग ५० रुपैयाँ मागे । उनीहरु विहान तीन बजेदेखि उठेर रुन्छन, अनी उनीहरुलाई म साथीभाइसँग आर्थिक सहयोग लिएर छुट्न मद्दत गर्ने आश्वासन दिएपछि सुत्छन् ।’

जितेन्द्र साह
शारीरिक अस्वस्थताले सोमबार अपराह्न तीन बजे म कार्यालय आएँ । म खासै काम गर्ने मुडमा थिइन । इमेल चेक गर्नलाई कम्प्युटर खोल्न लागेको बेला सहकर्मी दाई गोपाल खनालले मलाई सोध्नुभयो, ‘तिमी खाली छौं ?’ मैंले अनकनाएर भने, ‘किन होला ?’

उहाँले भन्नुभयो, ‘(बबरमहलस्थित) विशेष अदालतमा (नेवि संघका पूर्व महामन्त्री एवं विद्यार्थी आन्दोलनका मुख्य नेता) गगन थापाको (राज्य द्रोहको मुद्दा चलाउने आधार बारे) बहस हुदैछ ।’

विद्यार्थी राजनीतीबाट उतिसारो चर्चामा नआउँदै मेरो राम्रो शुभचिन्तक र मित्र रहनु भएका गगनजीलाई मैंले नभेटेको लामै समय व्यतित भइसकेको थियो । उनलाई भेट्न मलाई तलतल लागिरहेको थियो ।

कार्य व्यस्तता र फरक कार्य क्षेत्रले हामी एक अर्कालाई भेटन सकिरहेका थिएनौं । तर, उहाँले नजिकका साथीहरुबाट मेरो र मैंले पनि उहाँको हालखबर सोध्ने क्रम भने चलिरहेको थियो । मेरो हरेक उपलब्धि, मानसम्मान र पुरस्कारमा पहिलो बधाई टक्रयाउने साथीको रुपमा गगन थापा हुने गरेका छन् । उहाँ र मेरा बीचको सम्बन्ध पतै नपाई एक पत्रकार र विद्यार्थी नेताबीचको सम्बन्धभन्दा माथि उठिसकेको छ । खनाल दाईले विशेष अदालतको प्रसंग केलाएपछि मलाई गगजीलाई भेटेर कुराकानी गर्ने तलतल थप जाग्यो ।

म एक सासमा बेलुकी चार बजेतिर विशेष अदालतको परिसरमा पुगे । त्यहाँ पहिलेदेखि उपस्थित काठमाडौ पोष्टका सहकर्मि किरण चापागाईले बहस सकिएको बताए । कान्तिपुरका मित्र बालकृष्णपनि घुम्दैफिर्दै आइपुग्नु भयो । द हिमालयनका संवाददाता अनन्तराज लुईंटेल, गोरखापत्रका प्रकाश आचार्य र मसँग सामान्य परिचय भएको नेपाल समाचारपत्रका विकास भट्टर्राईले विभिन्न प्रसँग निकालेर मलाई उडाउने निरन्तर प्रयास गरिरहेका थिए ।

आफूले खान नपाएपछि ‘अंगुर अमिलो’ भन्ने आम धारणाबाट मित्रहरु पीडित थिए । ‘फलोअप समाचारमा जितेन्द्रलाई मान्नु पर्ने’ र ‘मेलम्चीका हिरो’ भन्दै कान्तिपुरमा मेरो समाचार कभरेज प्रति दोधारे प्रसन्नता व्यक्त गर्दै उनीहरु खिल्ली उडाउन खोजिरहेका थिए । तर मेरो ध्यान अन्यत्र थियो । म पत्रकारिता क्षेत्रमा निरन्तर चल्दै आएको होच्याउने र आफूलाई ठूलो देखाउने परम्परागत टिकाटिप्पणीबाट मित्रहरु अछुतो छैन भन्ने निर्णयमा पुग्दै गगन बारे सोध्न थाले ।

मेरो आँखाले गगनलाई खोजिरहेको थियो । मैंले सोचिरहेको थिएँ, ‘यति ठूलो आरोपमा मित्र गगनलाई समातेको रहेछ, सुरक्षाकर्मिले के भेट्न देला र, सुरक्षाकर्मिले वरिपरिबाट घेरेर राख्यौं होला ?’ यस्तै कुरा मनमा खेलाउँदै अदालतको प्रतिक्षालयमा पुगेर एक सुरक्षाकर्मि मित्रको नजिक बसे ।

एक त नीकै गर्मि र अर्कोतिर सञ्चो नभएकोले म टोलाएर बसिरहेको थिएँ । अचानक आवाज आयो, ‘जितेन्द्रजी सञ्चै ? नभेटेको धेरै भयो ।’ यो आवाज प्रतिक्षालयको झ्यालमा साथीभाइसँग आनन्दसाथ गफ गरेर बसिरहनु भएको गगन थापाको थियो । उनी विस्तारै उठेर हात मिलाउँदै मेरो छेउमा बसे ।

मेरो अनुमान भन्दा विपरित उनी सुरक्षाकर्मिबाट नभएर साथी भाइहरुबाट घेरिएका थिए । ‘जितेन्द्रजीलाई मैंले मेलम्ची मुद्दामा टिभीमा देख्ने गरे, प्रत्यक्ष भेटघाट नभएको धेरै भयो,’ उहाँले भन्नुभयो । म मनमनै सोचिरहेको थिए, ‘यतिको आदरभाव मुटुमा राखेपछि प्रत्यक्ष भेटघाट केहि हुँदो रहेन छ ।’

सुरक्षाकर्मिहरु पनि गगनसँग आदरपूर्वक गफ गर्दै मजा मानिरहेका थिए । शायद सबैको मनमा एउटा कुरा अवश्य खेलिरहेको थियो, ‘कुनै गलत षडयन्त्रको शिकार नभएमा गगन भोलिको नेपालको एक ठूला नेता र निती निर्माता हुनेछन् ।’

हरेक क्षण नजिकका साथीभाइहरुको मोबाइल फोनबाट गगनजीसँग कुरा गर्ने र आइतबार हुने नेवि संघको पोखरा अधिवेशनमा सभापति पदमा उम्मेदबारी दिनलाई सुझाव आइरहेको थियो । गगजीले फोनबाटै ‘म हिरासत बाटै भएपनि चुनाव लड्छु, साथीभाइले बहुमतले मलाई जिताउनु पर्छ’ भन्दै थिए ।’ सुरक्षाकर्मिहरु आनन्द मानेर गगनको कुराकानी सुनिरहेका थिए । बेलाबेलामा गगनले थुनाको प्रसँग केलाउँदै मसँग गरिरहेको ठट्टा सुन्दै सबै साथीहरु भुडी मिचिमिचि हाँस्थे ।

झण्डै बाहृ दिन थुनामा बसेका गगनजीलाई मैंले सोधे, ‘थुनामा कस्तो व्यवहार भइरहेको छ ।’

‘शुरु शुरुमा आफन्तजनलाई भेटन दिएनन, अहिले दिइरहेका छन, अरु कैदी झैं मैंले पनि पत्रपत्रिका पढ्न पाइरहेको छु, घर र आफन्तजनबाट खाना आइरहेको छ,’ उनी मन फुकाएर भन्दै गए, ‘शुभचिन्तकहरु पनि मैंले खानै नसक्नेगरि खाना लिएर आउँछन्, म बस्ने थुनुवा कोठामा नक्कली मुद्राको कारोबारमा पक्राउ भएका दुई नाइजेरियाली कैदी छन, धरौंटि बुझाउन नसकेर उनीहरु थुनामा बसेको भन्दै रुन्छन । आज आउने बेलामा मसँग ५० रुपैयाँ मागे ।’

‘उनीहरु विहान तीन बजेदेखि उठेर रुन्छन, अनी उनीहरुलाई म साथीभाइसँग आर्थिक सहयोग लिएर छुट्न मद्दत गर्ने आश्वासन दिएपछि सुत्छन् ।’ गगन भन्दै थिए, ‘म नीकै सुताहा भएको छु, बिहानै लागू पदार्थ दूर्व्यर्सन विरुद्ध लागेकाहरु ब्यायाम गर्न भन्दै उठाउँछन्, टन्न भात खाएपछि घोडा बेचेर सुत्छु ।’ ‘यति अल्छी हुँदाहुँदै पनि मैंले दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलको ‘सताइस वर्षे जेल यात्रा’ पढेर सकाएँ । नारायण बाग्लेको ‘पल्फसा क्याफे’ पढ्ने रहर छ । मित्रजनलाई ल्याएर देओ भन्या छु । अब त्यो पनि सकाउछु ।’

उनी मलाई भन्दै थिए, ‘जितेन्द्र, मण्डेलाको सताइस वर्षो जेल यात्रा पढदा मलाई थुनामा बसेको केहि महसुस हुन्न ।’ मैंले गगनलाई सफलताको शुभकामना दिंदै भने, ‘मण्डेलाको यात्राले दक्षिण अफ्रीकामा काला र गोराको भेद समाप्त भयो, अहिले त त्यहा गोराहरुको पार्टी पनि मण्डेलाको अफ्रिकी नेशनल काँग्रेसमा विलय भएको छ । तँपाईको यो योगदानले पनि मुलुकमा पूर्ण प्रजातन्त्रको स्थापना भएर विभेदरहित नेपाली समाजको स्थापना होस ।’

कराकानी चलिरहेको बेला बेलुकी पाँच बजेतिर अदालतबाट आदेश आउने छाँटकाट देखियो । म प्रतिक्षालयको भूइँतलाबाट रजिष्ट्रारको कोठातिर लागे । उनले आदेश पढेर सुनाउँदै भने, ‘सुरक्षा निकायलाई पाँच दिनभित्र अनुसन्धान पुरा गरेर मुद्दा दर्ता गर्ने आदेश दिएका छौं ।’ झण्डै बाहृ दिनसम्म थुनामा बसेका गगनले भने, ‘मलाई त आइतबार उडेर भएपनि पोखरा पुग्नु छ ।’ उनीभित्रको उत्साह, ताजगी र स्फूर्ति भर्खर विद्यार्थी राजनीतीमा प्रवेश गरेका किशोरभन्दा कम देखिएन ।

गगनले झ्यालखानातिर लाग्नुभन्दा अघि भनेका कुराहरु म संझिंद कार्यालय फर्किरहेको थिए, ‘नेपाल बार एशोसिएसनका अध्यक्ष शम्भु थापाले राजालाई चुनौती दिनेगरि बहस गरे, रत्नपार्कमा मैंले नाराबाजी गरेको भिडियो खिच्ने सुरक्षा अधिकृतलाई पनि अदालतमा हम्मै पर्यो ।’ ती सुरक्षा अधिकृतलाई न्यायाधिश र विपक्षी वकिलले र्यालीमा सुरक्षा गर्न गएको होकि भिडियो खिच्ने भनि प्रतिपश्न गर्दा जिल्ल परेका थिए ।

‘सरकारी वकिललाई पनि गगनलाई थप थुनामा राख्नु पर्ने र मुद्दा चलाउने बारे न्यायधिसहरुले सरकारी वकिललाई पनि प्रश्न गरे, तर सरकारी वकिले औपचारिक रुपमा नभएर अनौपचारिक रुपमा मात्र जवाफ दिनेभन्दा इजलासमा उपस्थित सबै हासेका थिए । तर, मलाई एउटै कुराले सताइरहेको थियो, ‘मुलुककोलागि कहि फरक गर्ने ऊर्जा भएका गगनको यो अनाहकको जेल यात्रा कहिले टुङ्गिने हो ।’

मैंले गगनलाई भने, ‘म न्यायधिस भएको भए, तँपाईलाई साधारण तारेखमा छाडिदिन्थे, तँपाई भूमिगत हुने होइन क्यारे ।’ नागरिक समाजद्धारा रत्नपार्कमा आयोजित र्यालीमा राजा विरुद्ध नारा लगाएको आरोपमा राज्य विरुद्धको अपराधको मुद्दा लगाइएका गगन थापाले भने, ‘मलाई प्रहरीले समाएको एक दुइ दिन बयान लिएपनि त्यसपछि केहि सोधेको छैन ।’ गगनले राजाले प्रधानमन्त्रीको रुपमा काम गरिरहेको हुनाले आफ्नो विरोध गर्ने अधिकार भएको उल्लेख गर्दै भने, ‘मैंले राजसंस्थाप्रति कुनै अनास्था जगाउनेक काम गरको छैन, राजाले प्रधानमन्त्रीको हैसियतमा काम थालेपछि अलोकप्रिय निर्णय र प्रजातन्त्र मास्ने कार्यको विरोध गरेको हुँ ।’

उनले पत्रकारहरुलाई भने, ‘राजाको कामको बारेमा अदालतमा पनि प्रश्न उठ्न थालेको छ, कार्यकारिणीको अधिकार लिएपछि राजाले त्यसरी नै जिम्मेबार भएर जवाफ दिनुपर्छ ।’ अदालत परिसरबाट जिल्ला प्रहरी कार्यालय हनुमान ढोकातर्फलगिंदा गगन चढेको प्रहरी भ्यानलाई बाटामा रोकेर र्समर्थकहरुले ‘गगन थापा, जिन्दाबाद, गणतन्त्र जिन्दाबाद’ को नारा लगाएका थिए ।

बबर महलको मुख्य सडकमा पन्ध्र मिनटभन्दा बढी नाराबाजी गुन्जिएको थियो भने आवागमन अवरुद्ध भएको थियो । गगनले साथीभाइहरुलाई अभिभादन गर्दै विदा भएका थिए । मैंले गगनजीलाई प्रहरी भ्यानमा कैद हुनुअघि भने, ‘अदालतको ठाडो आदेश त अप्रत्यक्ष रुपले तँपाईलाई रिहा गर्न भनिसकेको रहेछ, अदालत पनि बन्द खामको आदेशमा चल्ने हुनाले केहि अझैं थुनामा बस्नु पर्ला ।’

र अन्त्यमा, हामीले एक घण्टाको गफको दौरानमा दुइ वर्षघि त्रिपुरेश्वरमा अखिलक्रान्तिकारीका अध्यक्ष देवेन्द्र पराजुलीसँग भेटघाटलाई पनि संझेका थियौं । माओवादीमाथि प्रतिबन्ध फुकुवा भएको बेला विद्यार्थी संगठनबीच विभिन्न माग राखेर भएको पहिलो बैठकमा गगन र पराजुलीसँग परिचय भएको थियो । त्यतिखेर देवेन्द्रजीले भनेको वाक्यांश मैंले र गगनले संझेर नीकै हाँस्यौं ।

‘कान्तिपुरमा रातो टिका लगाएर नाम आउने जितेन्द्र साह तपाई हो !’ देवेन्द्रजीले नीकै रमाइलो पारामा भन्नु भएको थियो । ‘म त तँपाइलाई मोटो, घाटो, अग्लो र कालो न कालो तराइबासी भएको अनुमान गरेको थिएँ । तपाई पत्यार गर्नै नमिल्ने खालले फरक हुनुहुँदो रहेछ ।’

Comments: Post a Comment

<< Home

This page is powered by Blogger. Isn't yours?