Monday, September 05, 2005

 

गिरिजाप‍साद कोइराला केही समय अर्धचेत

माधव नेपाल, बामदेव गौतम, रामशरण महत, अमिक शेरचन लगायतका सबै नेताहरू गिरफ्तारी दिन आतुर देखिन्थे । मलाई लाग्छ तिनले बाहिर बसीरहँदा हुने झडपको शिकार हुनु भन्दा त प्रहरीको भ्यानमा बसेर ‘हाम्रो आन्दोलन जारी छ’ भन्नु नै सजिलो र सुरक्षित महशुस गरेको हुनुपर्छ । पत्रकार देखेपछि नेताहरू चिच्याउँथे प्रहरी भ्यानभित्रबाट नै ! रमाइलै थियो त्यो दृश्य पनि !
मलाई रूविन गन्धर्वसंग भेट्नु थियो । यो सानो गाइने केटो आजभोली पुर्ण प्रजातन्त्रका लागि हुने जुनसुकै जुलुस, सभा वा कार्यक्रममा पुगेको हुन्छ आफ्नो सारङ्गी बोकेर । उ निकै चर्चित छ, संचार माध्यमले पनि उसलाई अगाडी ल्याएका छन् । उ विरोध कार्यक्रमको एउटा आकषर्ण हो भन्दा फरक नपर्ला तर मैले भने उसलाई पहिलो पटक पाटनमा नागरीक समाजको कार्यक्रममा देखे । त्यसपछि म उसंग भेट्न चाहन्थे तर उसंग कँहा भेट हुन्छ ? कसैले भन्न सकेन ।

म दिक्क मानिरहेको थिए, किरण भण्डारी दाइ (समय साप्ताहिक)ले गगन थापाले भेटाइदिन सक्ने कुरा गर्नु भो र थापाको मोवाइल नं. पनि दिनुभो । मैले थापालाई फोन गरे । थापाले रूविन कँहा भेटिन्छ त्यो त बताउन सक्दिन तर आज बसन्तपुरमा हुने सात राजनितिक दलको निषेधाज्ञा क्षेत्र तोड्ने कार्यक्रम छ, त्यहा रूविन आउन सक्ने हुँदा तपाइ त्यँही आउनुहोस् म भेटाइदिउँला भने । कार्यक्रम तीनबजेबाट सुरू हुने पनि उनले बताए ।


म अफिसबाट हिड्दा ठुलो पानी परिरहेको थियो तर त्यँहा पुग्दा पानी रहीसकेको थियो र घाम लाग्ने छाँट देखियो। पछि त मौसम राम्रै थियो ।

म २: ४५ मा पुगेको थिए, थापालाई यताउता खोजे, रूविनलाई पनि खोजे तर अँह दुवै कतै देखिएनन् । मान्छेहरू क्रमशः भेला भइरहेका थिए । बसन्तपुरमा मेला लागे झै भयो, मान्छेको मेला । लठ्ठी बोकेका प्रहरीहरू पनि मानसिक रूपमा तयार देखिन्थे । जुलुसमा सहभागी नभएका तर एकछेउमा उभिएका एकजना केटो भन्दैथियो, ‘आज त दर्शक पनि टन्न छन् ।’ मलाई चारबजे सितु खरेलको नयाँ एल्बम ‘निर्मन’को बिमोचनमा पनि जानुथियो र्याडिसन होटल, लाजिम्पाटसम्म । जुलुस ढिलो सुरू भयो भने मैले केही हेर्न नपाउने हो की भन्ने थियो मलाई तर ३: १५ तिर सात राजनितिक दलका प्रमुख नेताहरू जुलुसको अग्रपङ्क्तिमा उभिए । जुलुस सुरू भयो, नारा उहि त हो राजालाई गाली गर्ने ।

नेताहरू अघि बढ्दै गए, बिशालबजार अगाडीको जुद्ध सालिक नआउनु अघि त प्रहरीहरू पनि पछि पछि र्सर्दै गए तर जुद्ध सालिक निर पुगेपछि त प्रहरीहरूले लठ्ठीको बार लगाए । तानातान सुरू भयो, म दौडेर जुद्ध सालिक भएको ठाउँमा पुगे । तानातान चलिरहेको थियो , एकजना महिला नेपाली कांग्रेसको झण्डा बोकेकी थिइन चोर बाटोबाट निषेधित क्षेत्रमा पुगेकी मात्र के थिइन महिला प्रहरीहरू पनि त तयार थिए नी पकडी हाले । उनी को रहिछिन् भनेर बुझ्न खोजेको सबै जनाले खोइ ? भने ।

निषेधाज्ञा तोडे नेताहरूले, दर्शकले ताली बजाए (अब जुलुसलाई अगाडी बसेर हेर्ने, नारा नलगाउनेलाई दर्शक त भन्नु पर्ला नी, अघिको केटोको भाषामा !)

‘उ माधव नेपाल ! उ गिरीजा ! उ फलाना ! उ चिलाना !’, दर्शकहरू कराउँदै थिए कि गिरीजा प्रसाद कोइराला निषेधित क्षेत्रमा प्रवेश गरेका मात्र थिए उनलाई प्रहरीले पक्राउ गरे र बिशाल बजारभित्र लगे । म त्यँहा जान सकिन किनकी त्यतिखेर प्रहरीले दर्शक भगाउन सामान्य लाठी चार्ज गर्न खोजेको थियो, भागाभागमा म अन्तै पुगे । पछि कान्तिपुर टेलिभिजनमा समाचार हेरेपछि पो थाहा पाए गिरीजाबाबु त बेहोस पो भएछन् । हुन पनि उनले आराम गर्नु पर्ने उमेरमा त्यस्तो भिडभाडमा आउन नहुने !

माधव नेपाल, बामदेव गौतम, रामशरण महत, अमिक शेरचन लगायतका सबै नेताहरू गिरफ्तारी दिन आतुर देखिन्थे । मलाई लाग्छ तिनले बाहिर बसीरहँदा हुने झडपको शिकार हुनु भन्दा त प्रहरीको भ्यानमा बसेर ‘हाम्रो आन्दोलन जारी छ’ भन्नु नै सजिलो र सुरक्षित महशुस गरेको हुनुपर्छ । पत्रकार देखेपछि नेताहरू चिच्याउँथे प्रहरी भ्यानभित्रबाट नै ! रमाइलै थियो त्यो दृश्य पनि !

केहि मान्छेहरूले निषेधाज्ञा तोडेर अगाडी बढेर बिर हस्पिटलसम्म पुगेका थिए भने केही तोड्ने कोशीसमा थिए । प्रमुख नेताहरूलाई गिरफ्तार गरे पनि मान्छेहरू उत्साहित नै थिए । प्रहरीले गिरफ्तार गर्न खोज्दा प्रदर्शनकारीहरू जन र्समर्थन खोज्थे तर दर्शकहरू ताली बजाउन मात्र जान्दथे । जब पहिलो चोटी प्रदर्शनकारीहरूले निषेधाज्ञा तोडे, म कति उत्तेजित भएछु भने जुद्ध सालिकको छेउमा बसेर ताली बजाउनु त सामान्य कुरा हो नारा पनि लगाएछु । साच्चै त्यो उत्साह गजबको थियो । प्रहरीसंग झडप गरेर जब तीनीहरूले निषेधाज्ञा तोडेर हुरूरू हुलका हुल मान्छे न्युरोडतिर दौडिए तब पुर्ण प्रजातन्त्र चाहने म उत्तेजित हुनु सामान्य हैन र ?

प्रदर्शनकारीहरू न्यरोडतिर पनि दौडिएको हुनाले म त्यतातिर लागे, यद्यपी प्रदर्शन बसन्तपुरमा पनि भै रहेको थियो ।

म भिडसंगै सरासर न्युरोडमा अघि बढिरहेको थिए की अचानक प्रहरीले टियर ग्याँस छोडे । यो मेरो पहिलो अनुभव थियो । मान्छेहरूले मुख थुनेर पछि पछि आउन थाले तर मलाई मुख त्यसरी थुन्नु पर्छ भन्ने थाहा थिएन फेरी मसंग रूमाल पनि थिएन । म पछि नआइ अघि नै बढे र खिचापोखरी जाने बाटोतिर लागे । म रून थालीसकेको थिए, सुक्क सुक्क हैन न त ह्वा ह्वा नै मात्र आखाबाट आँशु झारेर । अति भएपछि एउटा पसलमा एकछिन बसे र केही कम भएपछि म फेरी जुद्ध सालिक निर पुगे । सडक सुनसान थियो, दर्शक र प्रदर्शनकारी दुवै तितर बितर थिए । देखिएका मान्छेहरू रोइरहेका थिए । प्रहरी आफै पनि आशु पुछ्दै थिए, मेरो आखाबाट लगातार बहिरहेको आशु देखेर एउटा प्रहरी मलाई पानीले भिजाएको रूमाल दिएर सहयोग गर्न चाहन्थ्यो तर मैले पदैन भने । म जुद्ध सालिकमा पुगेको त अघिदेखि मैले खोजेको गगन त त्यँहा पो रहेछन् । उनी नेतृत्व गदै थिए जुलुसको र भन्दै थिए, ‘हामी निषेधाज्ञा तोड्छौ तोड्छौ !’

म पनि आशावादी थिए, थापाले अबश्य मत्थर भइसकेको आन्दोलनामा फेरी जोश ल्याउने छन् तर एकछिन पछि प्रहरी यसरी खेदाए कि उनीहरू कँहा पुगे कँहा ?

घरी झडप त घरी सामान्य ! हुदै थियो । कतिखेर कुन कुनामा झडप हुने पत्तै नहुने । घरी यता दौडियो त घरी उता । एकजना नेपाल विद्याथी संघका कार्यकर्तालाई प्रहरीको लाठी मजासंगैले लागेछ । उनलाई प्रहरीले भ्यानमा हालेर लग्दै गर्दा मैले भ्यानको झ्यालबाट हेरेको ती बिद्यार्थीको अर्ध बेहोस जस्ता देखिन्थे ।

मैले घडी हेरे चार भन्दा धेरै बजीसकेको थियो । मान्छेहरूको आवतजावत पनि सुरू भै सकेको थियो । अब र्फकनु पर्ला भनेर र्फकन लागेको त एकजना प्रदर्शनकारी ‘टियर ग्याँस र लाठीमात्र हैन गोली हान मलाई भन्दै थिए’ अरू उनको हो मा हो मिलाउँदै थिए । एकजना आमा प्रहरीलाई सम्झाउँदै थिइन की प्रहरीले पनि आन्दोलनलाई र्समर्थन गर्नु पर्छ भनेर । प्रहरीहरू भने आफुहरूलाई माथीको आदेश छ भन्दै थिए । एउटा प्रहरी मेरो परीचय पत्र पढेर नाम ambika हुनु पर्ने anbika भएछ भनेर आफ्नो साथीलाई भन्दै थियो । मेरो नामको ठुलो कथा हुन्छ कुनै दिन लेख्छु । म आन्विका (anbika)हो, अम्विका (ambika) होइन भनेर चिच्याउन सिवाय कुनै उपाय हुन्न कहिले काँहि !

म फर्कीदै गर्दा मैले केही महिला प्रहरीलाई देखे । उनीहरू आराम गर्दै थिए किनकी जुलुस फेरी ब्यँतिने सम्भावना एकदम कम थियो । रसीला रहेछन् केटीहरू । गफ गरे एकछिन अनि ठट्टा पनि । ‘चोट लागेको देख्दा त माया लाग्छ’ भनी एउटीले । उ वखलढुंगाकी रहिछ, ‘चोट लगाउँदा नी ?’ मैले सोधे । ‘त्यो त हाम्रो ड्युटी हो ।’, रामेछापकी गोरी केटी बोली । मलाई ढिलो भै सकेको थियो, लौ त भनेर म हिडे ।

गल्लीबाट जुलुस निस्कीने भएर होला प्रहरीहरू प्रत्येक गल्लीमा तैनाथ थिए । मान्छेहरू र्सतर्क भएर हिडिरहेका थिए । म आर.एन.सी.मा आए र गाडी चढेर होटल र्याडीसनतिर लागे । म सोच्दै थिए के होला यो आन्दोलनको परीणाम ? के यस्तै आन्दोलनले ०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भएको थियो ? मेरो आँखा जमलनिर आइपुग्दा एउटा घरमा पर्यो । एउटा केटा हातमा चियाको कप लिएर पारी पट्टीको घरमा भएकी एउटी केटी (केटाको हाउभाउले उ कुनै केटीलाई नै जिस्काउँदै होला भन्ने लागेपछि मैले वारीपट्टी हेरे) लाई जीस्काउँदै थियो ।

सीतु खरेलको कार्यक्रम पनि एक घण्टा ढिलो हुने भएछ, म ठिक्क बेलामा पुगेछु । मेरो आँखा पोलीरहेको थियो, बाथरूममा गएर मुख धोए । यो अर्कै माहोल थियो जँहा आएका मान्छे अघिको जुलुसबाट बिल्कुल बेखबर थिए । यीनीहरू केवल संगितको कुरा गर्दै थिए , केवल सितु खरेलको नयाँ एल्बम ‘निर्मन’को कुरा गर्दै थिए ।

Comments: Post a Comment

<< Home

This page is powered by Blogger. Isn't yours?